सदस्यका श्रीमानको निधन पश्चात् रु. २ लाख २५ हजार कर्जा बीमा रकम वितरण
ठोरी, पर्सा। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा सञ्चालन ठोरी, पर्साले सदस्य कृष्णा माया लामाका श्रीमान् स्वर्गीय गणेश लामाको निधनपश्चात् कर्जा बीमाबापतको रु. २ लाख २५ हजार रकम वितरण गरेको छ।
उक्त कर्जा बीमा रकम संस्थाका शाखा सञ्चालन अधिकृत राम प्रसाद पौडेलले सदस्य कृष्णा माया लामालाई हस्तान्तरण गर्नुभएको हो। कार्यक्रममा समूहका सदस्यहरूको समेत उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुवातमा स्वर्गीय गणेश लामाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो।
कार्यक्रममा शाखा सञ्चालन अधिकृत राम प्रसाद पौडेलले संस्थाले आफ्ना सदस्यहरूको सुख–दुःखमा सधैँ साथ र सहयोग गर्दै आएको बताउनुभयो। साथै, आगामी दिनहरूमा पनि संस्थाले आफ्ना सदस्यहरूको साथमा रहेर आवश्यक सहयोग तथा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
संस्थाले सदस्यहरूलाई वित्तीय सेवा प्रदान गर्नुका साथै दुःखद् परिस्थितिमा समेत सदस्य तथा परिवारलाई राहत र सहयोग प्रदान गर्दै आएको छ। कर्जा बीमा रकम वितरणले विपद्को समयमा सदस्य परिवारलाई आर्थिक राहत प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
